स्वस्थ तनसंगै मन पनि स्वस्थ हुनुपर्छ : डा चिन्तामणि योगी

लण्डन । हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा.चिन्तामणिनाथ योगीले स्वस्थ तनसंगै मन पनि स्वस्थ हुनु पर्ने कुरामा जोड दिएका छन् ।

पब्लिक हेल्थ सोसाइटी हडर्सफिल्डद्वारा मंगलबार बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा ‘स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य’ विषयमा प्रवचन दिंदै डा.योगीले विना कुनै भौतिक सुविधा पनि आनन्दसंग जीवन जिउन सक्ने कला सबैले सिक्नुपर्ने बताए ।

डा.योगीले शरीरमात्रै स्वस्थ भएर हुँदैन, मन पनि स्वस्थ हुनु पर्छ भन्दै त्यसको लागि योग, ध्यान र प्राणायाम अनिवार्य रहेको बताए ।

प्राणायाम प्रार्थना पनि हो भन्दै योगीले आफ्नै स्वासलाई राम्रो संग हेर्ने कला विकास गर्नु पर्ने बताए । स्वास प्रश्वासमै प्राण शक्ति आधारित रहेको भन्दै उनले यो उर्जालाई जीवन रुपान्तरण गर्न उपयोग गर्नुपर्ने बताए

स्वस्थ शरीर र स्वस्थ मनका लागि पांच प– पानी, प्राणायाम, प्रेम, प्रार्थना र प्रकृति– को सान्निध्यमा रहनु पर्ने उनको सुझाव थियो ।

‘प्रशस्त पानी पिउनु होस्, लामो स्वास लिनु होस्, सबैसंग र आफैलाई प्रेम गर्नु होस्, प्रार्थना गर्नु होस्, र सम्भव भएसम्म प्रकृतिको समीपमा बस्नु होस् र प्राकृतिक जीवन जिउनु होस् ।

‘मन र हृदयलाई अनुशरण गर्नु होस् । हाम्रो शरीरभित्रै रहेको आन्तरिक शक्तिलाई हेर्नोस् । तपाईं आफैमा परिपूर्ण हुनु हुन्छ, आफैभित्रको ‘स्व’लाई चिन्नु नै सबैभन्दा ठूलो उपलब्धि हो’, डा.योगीले भने ।

कार्यक्रमको शुरुमा हडर्सफिल्ड विश्वविद्यालयमा विश्व स्वास्थ्य विषयका प्राध्यापक तथा एसोसियट डिन प्रा.पदम सिम्खडाले डा.योगीलाई स्वागत गर्नुका साथै उनको परिचय पनि गराएका थिए ।

मंगलबार बेलुका डा.योगीले हडर्सफिल्डस्थित हिन्दु मन्दिरमा आयोजित सत्संगमा ‘वर्तमान विश्वमा वैदिक दर्शन तथा अध्यात्म’ विषयमा प्रवचन दिएका थिए ।

कार्यक्रमको संयोजन समाजसेवी किरण बाइजीले गरेकी थिइन् ।

काठमाडौंस्थित शान्ति सेवा आश्रमका संस्थापक तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा.योगी विश्व ओमकार एकता महाभियानका संयोजक पनि हुन् ।

बेलायतमा चेतना यात्राको क्रममा उनले विभिन्न नेपाली संघ संस्थाका साथै अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, लन्डनस्थित सेन्ट जेम्स स्कुल, वर्ल्ड गुडविल युके जस्ता संस्थाहरुमा भ्रमण तथा भेटघाट गरिरहेका छन् ।

उनले अल्डरशटस्थित शिव कल्चर सेन्टर (शिव मन्दिर) तथा बौद्ध गुम्बामा आयोजित सत्संगहरूलाई सम्बोधन गर्दै बेलायतमा बसोबास गरिरहेका ओमकार परिवार तथा गोर्खाली बन्धुहरूलाई एकताको एउटै मालामा आबद्ध गर्नु पर्नेमा जोड दिए ।

गत शनिबार, शिवरात्रीका दिन उनले बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरमा प्रवचन दिएका थिए । आउँदो आइतबार, २६ फेब्रुअरीका दिन साउथहलस्थित विश्व हिन्दु मन्दिरमा डा.योगीले ‘प्रवासमा हाम्रो धर्म, संस्कृति र पहिचान’ विषयमा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

Published : Wednesday, 2023 February 22, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया