कुलेश्वरमा विजयकुमारको ठूलो धन्दा, एक बोरा पैसा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले भारतीय नागरिक ४९ वर्षीय विजयकुमार गुप्तालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार साँझ गुप्तालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईजाजतपत्र नलिई वित्तीय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा गुप्तालाई पक्राउ गरिएको हो ।

भारतको हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक गुप्ताको साथबाट प्रहरीले नगद ५७ लाख रूपियाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको छ ।

कुलेश्वर एरियामाकेही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश, निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगदसहित पक्राउ गरेको हो ।

उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघिपनि २०७५ साउन ७ गते भारतीय रुपिया २ लाख र नेपाली ३१ लाख रुपियाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 February 22, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया