कोटा प्रणाली खारेज गरी नेपाललाई आइटी शिक्षाको हब बनाउन माग

काठमाडौं । नेपालमा सूचना प्रविधि (आइटी) को क्षेत्रलाई अगाडि बढाउन अभियान चलाई रहेका एक अभियन्ताले सूचना प्रविधि विषयको पढाइमा लगाइएको कोटा प्रणाली खारेज गर्न तथा विदेशी विद्यार्थीलाई पनि आकर्षित गरी नेपाललाई आइटी शिक्षाको हब बनाउन माग गरेका छन् ।

अमेरिकास्थित डियर वाक इंक तथा काठमाडौं सिफलस्थित डियर वाक कलेज तथा ट्रेनिंग सेन्टरका संस्थापक डा.रुद्रराज पाण्डेले मंगलबार उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर त्यस्तो आग्रह गरेका हुन् ।

भेटमा डा.पाण्डेले त्रिभुवन विश्वविद्यालय लगायतका विश्व विद्यालयहरूले निजी कलेजलाई आइटी विषयमा विद्यार्थी भर्ना गर्न कोटा तोकेकाले राम्रो पूर्वाधार र दक्ष शिक्षक भएका कलेजहरूले पनि खुम्चिएर बस्नु परेको गुनासो गरेका छन् ।

उनले संसारभरि नै आइटी स्नातकहरूको उच्च माग रहेकाले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न कोटा प्रणाली तत्काल खारेज गर्न ध्यानाकर्षण पनि गराए ।

ज्ञापनपत्रमा नेपालमा विदेशी विद्यार्थीलाई आइटी अध्ययनको अवसर खुला गर्नका लागि अनलाइन प्रवेश परीक्षाको व्यवस्था गर्न, भिसा प्रक्रियालाई सरलीकृत गर्न, विदेशी प्राध्यापक राख्ने व्यवस्था गर्न तथा नेपालबाट उच्च शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीको लागि कामदार भिसाको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

उक्त भेटमा उप–प्रधानमन्त्री पौडेलले सूचना प्रविधि क्षेत्रको विकासलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र आइटी शिक्षामा लगाइएको कोटा हटाउन आफ्नो कार्यक्षेत्रभित्र गर्नसक्ने काम गर्ने बताएका थिए ।

Published : Tuesday, 2023 February 21, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया