पुरानो गठबन्धन ब्यूँतिन्छ, कांग्रेसको राष्ट्रपतिमा सहमति हुन्छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसले अगाडि सार्ने राष्ट्रपतिको उम्मेदवारमा सहमति बन्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘सहमतिको राष्ट्रपति कांग्रेसको हुन्छ । फागुन १३ गते कांग्रेसको राष्ट्रपतिको उम्मेदवार अगाडि बढ्नेछ ।’ उनले कांग्रेसले व्यवस्था र संविधानको रक्षा गर्ने बताएका छन् ।

उनले भने, ‘अहिलेको गठबन्धन भत्किएर पहिलाको गठबन्धन पुनः जीवित हुनेछ ।’

उनले विकास, दिगो शान्ति र परिवर्तनका लागि कांग्रेसले गठबन्धन गरेको बताएका छन् । उनले सत्ताका विषयमा केही असमझदारी हुँदा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्किएको बताएका छन् ।

‘कांग्रेस र माओवादीमा सत्ता प्राप्तिमा कहिँन कहिँ गल्ती भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा मिलेर हिजो गठबन्धन बनेको थियो’, सभापति बानियाँले भनेका छन् ।

‘संविधानलाई रक्षा गर्न व्यवस्थाको स्थायित्व र गठबन्धनको सुरक्षाका लागि हामीले गठबन्धन गरेका थियौं’, उनले भने, ‘गठबन्धनको जगमा कांग्रेस ठूलो भयो । सत्तामा जाने विषयमा कहिँन कहिँ गल्ती भएको छ ।’

उनले कांग्रेसले प्रजातन्त्रका लागि सबै टिमलाई गोलबन्द गरेर आएको बताएका छन् । उनले कांग्रेस भनेको शक्ति, सत्य र सुन्दर पार्टी रहेको बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिको सभापतिमा तेजप्रसाद घिमिरे नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको छ । सभापति बानियाँले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना पनि दिएका छन् ।

Published : Saturday, 2023 February 18, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया