आत्मदाह गरेका प्रेमप्रसादकी पत्नीलाई कसले पठाइदियो अमेरिकाबाट १७ लाख ५० हजार ?

काठमाडौं । स्व.प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीलाई अमेरिकाबाट प्राप्त १७ लाख ५० हजार रुपियाँ हस्तान्तरण गरिएको छ ।

अमेरिकामा बस्दै आएका सुरेशदर्पण पोखरेलको विशेष पहलमा सञ्चालित ‘गो फण्ड मी’मा संकलित रकम अधिकारीलाई काठमाडौंमा हस्तान्तरण गरिएको हो ।

माघ १० गते राज्य समक्ष विविध मागहरू राखेर प्रेमप्रसाद आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए । पेशा, व्यवसाय, रोजगारी लगायत विविध काम गर्दा पनि आचार्यलाई सबैले ठगेर डुबाएका थिए । व्यवसाय गर्न लिएको करीव ५०–६० लाख रुपियाँ ऋणबाट आचार्य तनाबमा थिए ।

अमेरिकामा १३ हजार ७३२ डलर जम्मा भएको थियो । पोखरेलले आफ्नो सेवा शुल्क बापत लिएको ५२४ डलर घटाई कुल १३,२०७ डलर संकलन भएको जनाएका छन् ।

सो रकमको नेपाली रुपियाँ १७ लाख ३६ हजार ७२० हुन आएकोमा रू. १३,२८० थप गरी कुल १७ लाख ५० हजार रुपियाँ स्व. प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीलाई शुक्रबार हस्तान्तरण गरिएको पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले भनेका छन्, ‘परिस्थितिवस संसारको जुनसुकै भूगोलमा बसेपनि देश र देशबाशीलाई दुख्दा हामीहरूलाई पनि उत्तिकै दुख्ने गर्दछ ।’

‘स्व.प्रेमप्रसाद आचार्यले राज्य र समाज समक्ष राख्नु भएका सल्लाह, सुझाव र मागहरू उपर सम्बन्धित निकायले यथाशीघ्र कदम चालोस् र आगामी दिनहरूमा कुनै पनि नेपालीले यसप्रकारका घटनाको सामना गर्न नपरोस भन्ने कामना गर्दै यो अभियानमा साथ र सहयोग प्रदान गर्नुहुने सबै ४१९ जना सहयोगी दाताहरूप्रति हार्दिक आभार ब्यक्त गर्दछु’, उनले भनेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका पोखरेल समाज सेवामा पनि सक्रिय छन् ।

Published : Saturday, 2023 February 18, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया