एमाले नेतृ सूर्यकुमारीले खनाललाई थुनाइन्

काठमाडौं । एमालेकी नेतृ करिश्मा मानन्धर ‘सूर्यकुमारी’को उजुरीका आधारमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

महिलाविरूद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले झापाको दमक नगरपालिका–५ मनकामना टोल घर भई हाल काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्युतीय सञ्चार माध्यमद्वारा पीडित महिला विदेश रहँदा बस्दाको सम्बन्धमा शिष्टाचार विरुद्धका घृणा एवम् द्वेष फैलाउने गरी अमर्यादित शब्द सामाग्रीहरू अभिव्यक्त गर्ने कार्यमा संलग्न रहेको आरोप खनाललाई लागेको छ ।

साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट खनाललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

खनाल उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एमाले नेतृ तथा अभिनेत्री सूर्यकुमारीले खनालविरुद्ध प्रहरीको साईबर व्यूरोमा उजुरी दिएकी छिन् । खनालले सूर्यकुमारीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जोडेर व्यक्तिगत लाञ्छना लगाउने गरेर सामाजिक सञ्जाल युट्युबमा अन्तर्वार्ताहरू दिएका थिए ।

खनालको अभिव्यक्तिले आफ्नो चरित्र हत्या भएको भन्दै न्यायका लागि सूर्यकुमारीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अभिनेत्री करिश्मा मानन्धर ‘सूर्यकुमारी’ अमेरिकामा रहेका बेला रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको भनेर अभिव्यक्ति दिएपछि खनाल कानूनी फन्दामा परेका हुन् ।

Published : Friday, 2023 February 17, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया