यी हुन् बसपार्कमा पसल फोडेर लुट्पाट गर्नेहरू, युवती पनि परिन्, कसको धन्दा के ?

काठमाडौं । नयाँ बसपार्कको ल्होत्से मलमा रहेको मोवाइल पसलबाट लुटपाट गर्ने थप व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १ गते साँझ ६ बजेको समयमा गोंगबुको नयाँबसपार्कस्थित लोत्से मलमा प्रवेश गरी लुटपाट गर्ने समूहका थप व्यक्तिहरूलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसर टेकुका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

अर्जुन चालिसेले सञ्चालन गरेको मोबाईल प्रा.लि., डायमण्ड मोबाईल प्रा.लि. तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रा.लि.मा तोडफोड गरी पसलभित्र रहेका मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगाएतका सामानहरू चोरी तथा लुटपाटमा संलग्न थप ६ जना व्यक्तिहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ८ घर भई हाल ठमेलमा बस्ने (बसमा यात्रु हाल्ने काम गर्ने) वर्ष २३ का रोजन डंगोल, गोरखाको अजिरकोट ३ हंसपुर घर भई हाल माछापोखरी बस्ने (लगेज बोक्ने भरिया काम गर्ने) वर्ष ३० को सुजन तामाङ, धादिङको नेत्रावती १ घर भई हाल काठमाडौंको बालाजु बस्ने (न्यु भण्डारी खाना घरमा खाना पकाउने काम गर्ने) वर्ष २३ को सुवास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको झिलझिले घर भई हाल गोंगबु बस्ने (सफर गेष्ट हाउस, नँयाबसपार्कमा काम गर्ने) वर्ष १९ की जोना चौधरी, मोरङको लेटाङ ५ घर भई हाल मनमैजु बस्ने (बसमा यात्रु ल्याउने काम गर्ने) वर्ष ३० को रितेश बस्नेत, मोरङको बेलाबारी ४ घर भई हाल तारकेश्वर बस्ने (बसपार्क काउन्टरमा काम गर्ने) वर्ष ३० को एमन राईलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।

उनीहरूको साथबाट प्रहरीले पावर बैंक, कभर, इयरफोन, केबुल, मोबाईललगायतका सामग्री बरामद गरेको छ । उनीले वारदात हुँदाको बखत लगाएका कपडाहरू पनि बरामद भएका छन् ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

साथै बिहीबार उक्त घटनामा संलग्न थप १ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको छ । अन्य संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 February 16, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया