ल्होत्से मलमा लुटपाट गर्ने र उपद्रो मच्चाउने थप यी १५ जना पक्राउ

काठमाडौं । प्रहरीले नयाँ बसपार्कको ल्होत्से मलबाट लुटपाट गर्ने तथा उपद्रो मच्चाउने थप १५ जनाको समूहलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकमा प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोवाइल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न रहेको अभियोगमा १५ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमध्ये लोत्से मलमा भएको घटनामा संलग्न काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत र मोरङका ३० वर्षीय यमन राई रहेका छन् ।

यसैगरी आगजनी तथा तोडफोडमा संलग्नहरूमा नुवाकोटका १९ वर्षीय केशर राई, धादिङका २६ वर्षीय ईलाराज गुरूङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, चितवनका २७ वर्षीय संविधान परियार, काठमाडौंको तार्केश्वरका १९ वर्षीय कविन खड्गी, काठमाडौंको माछापोखरी बस्ने २२ वर्षीय रोमन नगरकोटी र ३३ वर्षीय माधव शाही रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा नुवाकोटका २ जना १८ वर्षीय किशोर, धादिङका १८ वर्षीय किशोर र सिन्धुलीका १८ वर्षीय किशोर रहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अधिकांश व्यक्तिहरू चालक, सह–चालक तथा यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बालाजु र महाराजगंज पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोही घटनामा संलग्न १० जनालाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 February 16, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया