विद्यादेवी भण्डारीको सवारीका बेला विद्यार्थीलाई पिसाब फेर्न नदिएको रामहरि खतिवडाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले राष्ट्रपतिको सवारीका नाममा जनतालाई दुःख दिने कार्यको विरोध गरेका हुन् ।

उनले भने, ‘अस्तव्यस्त राष्ट्रपतिको सवारी कहिले अन्त्य हुने ? डाक्टरले उपचार गर्न नपाउने, जान नपाउने, बिरामी जान नपाउने, विद्यार्थीले पिसाब फेर्न नपाउने अवस्थाको अन्त्य गर्न सरकारले पहल गरोस् ।’

कांग्रेसका सांसद खतिवडाले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई सरकारले अझै पक्राउ गर्न नसकेकोमा पनि आक्रोश पोखेका छन् । उनले भने, ‘ लक्ष्मी महतो कोइरी हराइरहेका छन् । उनलाई खोजेर ल्याउनु पर्‍यो ।’

सांसद खतिवडाले सरकारले भूकम्पपीडितहरूलाई घर बनाउन दिने भनेको अनुदानको रकम अहिलेसम्म नदिएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।

‘भूकम्पपीडितहरू घर बनाइसके तर, तीन लाख रुपियाँ पाउने भनेको अहिलेसम्म पाएका छैनन् । बनाएका घरहरूलाई तीन लाख रुपियाँ दिने भनेको तुरुन्त व्यवस्था होस्’, उनले भने, ‘थप एक लाख दिने भनेको थियो त्यो कहिलेसम्म पाउँछन् जानकारी होस् ।’

उनले ओखलढुंगा जिल्लामा बाटो र सडकहरूलाई छिटो निर्माण गर्न पनि सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

‘लिखु एकवार र दुधकोशी एकवार ओखलढुंगाका बाटामा रकम कटाइएको छ तिनीहरूलाई सुचारु गर्नको लागि पहल कदमी होस्’, उनले भनेका छन् ।

‘प्रत्येक गाउँपालिकामा मोटरेबल बाटा पिच गर्ने भनेको छ कहिले पुर्‍याउने हो ? त्यो जानकारी मन्त्रीले सदनमा आएर दिनुपर्छ’, उनले भनेका छन् ।

‘मोलङ एकवार र घोराखोरी–साँघुटार–घोराखोरी–ओखलढुंगा बाटो पिच प्रारम्भ भएको छ’, खतिवडाले भने, ‘यसलाई छिटोभन्दा छिटो अगाडि बढाइयोस् ।’

Published : Sunday, 2023 February 12, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया