बैंकहरूको ज्यादतीविरुद्ध राजकिशोर यादवद्वारा भण्डाफोर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले राज्यले जनताको सेवा गर्नेभन्दा पनि पीडकका रुपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद यादवले व्यापारीहरूले आर्थिक संकटका कारण ऋण तिर्न नसकेको भन्दै राज्यले ती व्यापारीहरूलाई झन् पीडा दिएको बताए । उनले राज्यको उदाशिनताले कृषिका उब्जनीहरू किसानले सडकमा फाल्नुपर्ने अवस्थाका आएको उल्लेख गरेका छन् ।

उनले भने, ‘राज्य जनताको सेवाको लागि हो कि पीडकको रुपमा काम गरेको हो ? विरोधाभाषपूर्ण स्थिति पैदा भएको छ ।’

‘व्यापारीहरू बैंकबाट लिएको ऋण तिर्न नसकेर आत्महत्या गर्दैछन्’, उनले भने, ‘किसानहरू मल नपाएर आफूले मेहनत गरेर उब्जाएको तरकारीहरू बाटोमा फाल्दै छन् ।’

उनले भने, ‘शिक्षा राज्यको दायित्व हो । नैसर्गिक अधिकार हो भन्छौँ उता विद्यालयहरूमा दरबन्दी छैन । हामीले कस्तो राज्यको परिकल्पना गरेका छौँ ?’

‘राज्यले गरेका बाचाहरू समयमा पूरा गरुन् र आफ्नो विश्वसनीयता जनता र राज्यबीचको जुन कडी छ त्यसलाई मजबुत गरुन् भन्ने मेरो आग्रह छ’, जसपाका सांसद यादवले भनेका छन् ।

Published : Sunday, 2023 February 12, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया