ठूलो पार्टी हुँदा पनि अनेकन चलखेलको कारण कांग्रेस बाहिर बस्नु परेको छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महतले देशको राजनीतिमा ठूलो पार्टी कांग्रेसलाई सत्ताभन्दा बाहिर राखिएका कारणले अन्यौलपूर्ण भएको बताएका छन् ।

शनिबार नुवाकोटको बिदुर नगरपालिका ५ पिपलटारमा आयोजित महोत्सवको उद्घाटनलाई सम्बोधन गर्दै उनले भने, ‘जुन आशा र भरोसा नेपाली जनताले गरेर नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाएका थिए अनेकन चलखेलको कारण कांग्रेस बाहिर बस्नु परेको कारणले देशको विकास निर्माण अन्यौलमा परेको छ ।’

उनले भने, ‘सुशासन अन्यौलमा परेको छ । देशभित्रै रोजगार दिएर युवा पंक्तिलाई क्रियाशील गराउने । उत्पादनशील क्षेत्रमा लगाउने । रोजगारी सुनिश्चित गराउने कुराहरू अन्यौलमा परेको छ ।’

कांग्रेसले अन्यौलबाट मुलुकलाई मुक्ति दिलाउन काम गर्ने प्रवक्ता डा.महतले बताएका छन् ।

उनले भने, ‘जुन दलहरू हामीसँग छुट्टिएका छन् उनीहरूलाई पनि नजिक ल्याउने छौँ । जुन किसिमको सरकार अहिले बनेको छ त्यसले विकास निर्माणको आवश्यक्ता सम्बोधन गर्न सक्दैन ।’

पूर्वमन्त्री समेत रहेका प्रवक्ता डा.महतले जनताको सेवा सुविधामा कांग्रेस केन्द्रित रहने बताएका छन् ।

डा.महतले आफू ५ वर्ष अगाडी उर्जामन्त्री भएका बेला ग्रामीण विद्युतीकरण आयोजनामार्फत विजुलीलाई अधिकांश गाउँमा पु¥याएको बताए । उनले बाह्रै महिना चल्ने सडक नुवाकोटभरि आवश्यक रहेको बताएका छन् ।

डा.महतले रसुवा नाकासम्मको सडकलाई छिटोभन्दा छिटो बनाउन पनि आग्रह गरेका छन् । उनले नुवाकोट यातायातमा विगतमा पछाडि परेको भन्दै जनताको जीवनस्तर बढाउन भूमिका खेलेको बताए ।

उनले नुवाकोटको कृषिक्रान्तिमा सम्भावना बोकेको जिल्ला रहेको बताएका छन् । उनले नुवाकोटको व्यवसाय र व्यापार उत्तरीको चीनदेखि दक्षिणको भारतसम्म विस्तार गर्न सकिने बताएका छन् ।

Published : Saturday, 2023 February 11, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया