नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।

देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।

सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।

अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही जिल्ला सदस्य ठाकुरले नेपालीहरूको शिर ठाडो हुनेगरी अयोध्यामा नेपाली झण्डा फहराएका हुन् ।

ठाकुरले फहराएको झण्डासहितको तस्बिर नेपालीमाझ लोकप्रिय रुटिन अफ नेपाल बन्द फेसबुकले सार्वजनिक गरेको थियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतमा नेपालको झण्डा फहराएको क्षणमा गौरव गरेका छन् ।

‘मेरो देशको झण्डा अरुको देशमा फर्फराउँदा यो मन आन्न्दित भो’ गणेश जिसीले लेखेका छन् । रिचाले ‘एक देश र अर्को देशबीचको सम्मान दर्सायो’ भनेकी छन् ।

क्रिस क्षेत्रीले ‘मेरो देशको झन्डा उठायौ त्यसमै खुसी लाग्यो’ भनेका छन् । अर्जनु बोहोराले अब जनकपुर अयोध्या एक्प्रेस रेल सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल–भारतका जनताबीच हार्दिकता ल्याउनेगरी झण्डा फहराएका ठाकुर नेपाल फाउण्डेसनका अध्यक्ष पनि हुन् । उनी धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सक्रिय छन् । ठाकुरले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेटेर राम सीता जोड्न अयोध्यामा नेपाल हाउस बनाउनुपर्ने धारणा राखेका थिए ।

आदित्यनाथले निःशुल्क भोजन र बसोबास हुनेगरी नेपाल हाउस बनाउन अयोध्या स्मार्ट सिटीको कामअघि बढाउने घोषणा गरेका छन् ।

नेपालको धार्मिक पर्यटनलाई भारतसहित विश्वका विभिन्न देशमा प्रवर्द्धन गर्नेगरी नेपाल फाउण्डेसन चलाइरहेका ठाकुर सामाजिक सेवामा पनि सक्रिय छन् । सर्लाहीबाट प्रतिनिधित्व गर्ने ठाकुरले राजनीतिमा भइरहेका विकृति विसंगतिविरुद्ध पनि आवाज उठाइरहेका छन् ।

Published : Saturday, 2023 February 11, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया