काठमाडौंमा जमुना र ईन्द्रमणि पक्राउ परेपछि पूरै सञ्जाल ढोक्सामा पर्‍यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु गैंडा चोरी शिकारीका १५ अभियुक्तलाई पक्राउ गरेको छ ।

अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जना मानिसहरूलाई पक्राउ गरेको सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ ।

माघ १९ व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सरस्वतीनगर टोलबाट गैंडाको खाग थान–१ सहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा व्यूरोले थप मानिसहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई व्यूरोले थप कारबाहीका लागि वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुरका ४५ वर्षीय ईन्द्रमणि आचार्य, बाँकेको कोहलपुरकी ४१ वर्षीय जमुनाकुमारी शर्मा रहेका छन् । काठमाडौंको सीतापाईला चोकबाट पाल्पाको भुवनपोखरीका ६२ को बाबुलाल भट्टराई, गंगबु चोकबाट कैलालीको मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, सीतापाईला चोकबाट कैलालीको घोडाघोडी, पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरीलाई व्यूरोले पक्राउ गरेको छ ।

ललितपुरको लगनखेलबाट भोजपुरको अरुण गाँउपालिका– २ का घर भइ हाल चावहिल बस्ने ४५ वर्षीय डम्बरकुमार आले मगर, हात्तीसारबाट गोरखाको पालुङटार ठाँटीपोखरीका ४७ वर्षीय दानबहादुर राना, जमलबाट स्याङ्जाको पुतलीबजारका ४६ वर्षीय निर्मल शाही, वालिङ नगरपालिका–८ जैसीपधेँराकी ३८ वर्षीया हरिमाया रानालाई पनि व्यूरोले पक्राउ गरेको छ ।

चितवनको भरतपुर ८ कि ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङलाई गौरीगंज सल्यानीबाट पक्राउ गरिएको छ । चितवनको कालिका नगरपालिका वडा नं. ९ शेरबासबस्ने ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङलाई पनि पक्राउ गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ पदमपुर बस्ने ३० वर्षीया तुलसी चेपाङ, इच्छाकामना गाउँपालिका वडा नं. ७ सुन्दरबस्ती ३९ वर्षीय वीरमान वाइबा, कालिका नगरपालिका वडा नं. ९ शेरबास बस्ने ३० वर्षीय राधाकृष्ण चेपाङलाई भरतपुर महानगरपालिका वडा नं ९ हाकिमचोकबाट पक्राउ गरिएको छ ।

भरतपुर ८, गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइतबहादुर तामाङलाई भरतपुर महानगरपालिका वडा नं ९ हाकिमचोकबाट पक्राउ गरिएको छ ।

सोमबहादुर चेपाङ समेतको टोलीले चितवनको कालिका नगरपालिका वडा नं १ को चतुरमुखी सामुदायिक बन उपभोक्ता समूह तथा भरतपुर महानगरपालिका वडा नं. ११ को नवजागृती सामुदायिक वन उपभोक्ता समितिको सीमानामा पर्ने खगेडीखोला वन क्षेत्रमा अवैध रूपमा गैंडा मारी खाग काटी लगेको खुल्न आएको व्यूराले जनाएको छ ।

केही दिन उक्त खाग पक्राउ प्रतिवादी राजु भन्ने सोमबहादुर चेपाङले कालिका नगरपालिका वडा नं ९ शेरवासस्थितमा लुकाई राखेको खुलेको छ ।

राजु भन्ने सोमबहादुर चेपाङ समेतले सम्झना भन्ने कमला तामाङको योजना बमोजिम निजलाई खाग बिक्री गर्नको लागि दिएको खुलेको छ ।

सम्झना भन्ने कमला तामाङले गैंडाको खागको तस्विर प्रतिवादी हरिमाया रानाको मोवाइलमा पठाएको र निजले प्रतिवादी निर्मल शाहीको मोवाइलमा उक्त खागको तस्विर पठाएको खुलेको छ ।

कमला तामाङले उक्त खाग काठमाडौं ल्याउन वीरमान वाईबा समेतको योजना र सहयोगमा काठमाडौं लैजाने योजना बनाएको खुलेको छ ।

माघ १ गते चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौंसम्म खाग ल्याई बीस लाखमा बिक्री गर्ने सहमतिमा प्रतिवादी निर्मल शाहीलाई दिएको अनुसन्धानका क्रममा खुलेको छ ।

निर्मल शाहीले उक्त खाग अवैध रूपमा बिक्री गर्नको लागि दानबहादुर राना, डम्बरबहादुर आले मगर समेतको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएको अनुसन्धानका क्रममा खुलेको व्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहले उक्त खाग जमुना शर्मा र ईन्द्रमणि आचार्यलाई दिएको व्यूरोले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि मिति माघ १९ गते व्यूरोबाट खटिएको प्रहरी टोलीले सरस्वतीनगरबाट जमुना शर्मा र ईन्द्रमणि आचार्यलाई गैँडाको खागसहित पक्राउ गरेपछि तस्करहरूको समूह पक्राउ परेको थियो ।

उल्लेखित कसूरमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाइएको छ ।

Published : Thursday, 2023 February 9, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया