कांग्रेस नेता एवम् पूर्वसांसद घलेको काठमाडौंमा निधन

काठमाडौं । पूर्व सांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ ।

नेता घलेको मंगलबार मध्यान्ह १२ बजेर १८ मिनटमा उपचारको क्रममा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ ।

‘पूर्वसांसद घलेको असामयिक निधन भएको घटनाले हामीलाई स्तब्ध एवं दुःखी तुल्याएको छ’, कांग्रेसका प्रमुख सचेतक घलेले भने, ‘उहाँ लामो समयदेखि प्राणघातक क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।’

स्व.घले २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

‘नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो’, कांग्रेसले भनेको छ ।

‘घले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आउनु भएको थियो’, कांग्रेसका प्रमुख सचेतक लेखकले भनेका छन् ।

‘सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरूमा पनि उहाँको अतुलनीय योगदान रहेको छ’, लेखकले भनका छन्, ‘विश्वभर फैलिएको कोभिड १९ महामारीको समयमा उहाँले नेपाल सरकारलाई करिब सवा करोड बराबरको सेनिटाईजर सहयोग उपलब्ध गराउनु भएको थियो ।’

‘नेता घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ’, लेखकले भने, ‘उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

कांग्रेसले शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Published : Tuesday, 2023 February 7, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया