लामिछानेको सन्देश बोकेर ओली बालुवाटार छिरे, गृहमन्त्रीबारे यस्तो छ प्रचण्डको जवाफ

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँग पुनः आग्रह गरेका छन् ।

शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा ओलीले लामिछानेलाई उप–प्रधानमन्त्रीसहित गृहमन्त्री बनाउन दवाव दिएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले ओलीलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि लामिछाने र गृह मन्त्रालयका विषयमा विचार गर्न सकिने जवाफ फर्काएका छन् । बालुवाटारमा दाहाल र ओलीबीच भएको भेटवार्तामा निकै असहजता भएको देखिएको बुझिएको छ ।

एमालेका अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएरमा सरकार संकटमा पर्ने चेतावनी समेत दिएका छन् ।

आफूलाई उप–प्रधानसहित गृहमन्त्री बनाउन सभापति लामिछानेलाई दुई दिनको अल्टिमेटम दिएका थिए । सभापति लामिछानेले दिएको अल्टिमेटम शनिबार सकिदै छ ।

प्रधानमन्त्री दाहाल नागरिकता र राहदानी काण्डका विवादित व्यक्ति लामिछानेलाई उप–प्रधानसहित गृहमन्त्री बनाउन चाहेका छैनन् । सांसद नै नरहेका लामिछानेलाई ५ महिनाका लागि गृहमन्त्री बनाउन ओलीले दवाव दिँदै आएका छन् ।

एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको छ ।

ओलीले राष्ट्रपतिमा एमालेलाई समर्थन गर्ने पूर्वसहमति कार्यान्वयन गर्न दाहाललाई दवाव दिएका छन् ।

यद्यपि, प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर जानुपर्ने जवाफ ओलीलाई दिएका छन् । दाहालको जवाफ सुनेपछि ओलीले सरकार गठनका बेला भएको सहमतिप्रति ध्यान दिन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

यसअघि, शुक्रबार एमालेका अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग परामर्श गरेका छन् ।

ओली, लामिछाने र लिङ्देनबीच पूर्वसहमतिअनुसार लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

लामिछाने र लिङ्देनबीच भएको परामर्शअनुसार ओलीले शनिबार बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहाल बालकोट जान छाडेपछि एमालेका अध्यक्ष ओली आफै लखर लखर बालुवाटार आउने गरेका छन् ।

Published : Saturday, 2023 February 4, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया