प्ले ब्वाई क्लबबाट दुई जना पक्राउ, ठमेलमा प्रहरीको निगरानी
काठमाडौं । काठमाडौंको ठमेलस्थित प्ले ब्वाई क्लबबाट प्रहरीले लागुऔषध सेवन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
हुक्कामा राखेर आइस ड्रग सेवन गरेको सूचनाका आधारमा प्रहरीको लागुऔषध व्यूरोले दुई जनालाई असोजमा पक्राउ गरेको हो । ती पक्राउ परेका व्यक्तिहरूमार्फत व्यूरोले अनुसन्धान अगाडि बढाएको छ ।
प्ले ब्वाई क्लबबाट पक्राउ पर्नेमा सुरज पराजुली र राजन पराजुली रहेको व्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताएका छन् । खनालले भने, ‘लागुऔषधको आशंका लागेका स्थानहरूमा निगरानी बढाएका छौँ । धेरै सफलता पनि प्राप्त भएको छ ।’
प्रहरीले सुरज पराजुलीको साथबाट १० ग्राम आइस ड्रगसमेत बरामद गरेको थियो । लागुऔषधको कारोबार र सेवनमा प्ले ब्वाई क्लबका सञ्चालकको संलग्नता भेटिएको छैन ।
पक्राउ परेका राजन पराजुली नेपाली सेनाका जवान हुन् । पक्राउ परेका राजन पराजुली धरौटीमा छुटेका छन् । त्यसअघि पक्राउ परेका प्रकाश थापा, सोनाम घले तथा सोममाया तामाङमाथि अनुसन्धान गर्दा उनीहरूको सूचना प्रहरीले पाएको थियो ।
पक्राउ परेका सुरजले क्लबमा गएर लागुऔषध बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । नेपाल आउने कतिपय विदेशीहरू लागुऔषध सेवनकर्ता हुने गरेका छन् ।
पर्यटकका लागि सानो परिणाममा लागुऔषध ठमेलका सडकमा खुलेआम कारोबार हुने गरेको प्रहरीले जनाएको छ । सोही कारण प्रहरीले ठमेलका क्लव, डिस्कोलगायतमा निगरानी बढाएको छ । केही क्बलमा प्रहरीले लागुऔषधकै नसामा कतिपय झुमिरहेको देखिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया