कामना सेवा बैंकका सीईओ नै पक्राउ, केही मान्छे फरार

काठमाडौं । प्रहरीले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहितका ४ जनालाई पक्राउ गरेको छ ।

केही व्यक्ति भने फरार रहेका छन् । उनीहरूलाई पनि प्रहरीले पक्राउ गर्न खोजी कार्य जारी राखेको जनाएको छ ।

बैंकका सीईओ प्रवीण बस्नेतसहितले कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख (एसपी) दुर्गाराज रेग्मीले बताएका छन् ।

पक्राउ पर्नेहरूमा हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्रसिंह भण्डारी रहेका छन् ।

नेपाल राष्ट्र बैंक हुँदै आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरूमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी रेग्मीले बताएका छन् ।

विभिन्न फर्जी कम्पनीहरू खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो ।

घटनाका बारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । कामना विकास बैंकले नै थप अनुसन्धानका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

Published : Wednesday, 2023 February 1, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया