नवलपरासी १ मा यस्ता छन् कांग्रेसका विनोद चौधरीले अगाडि सारेका योजनाहरू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद् विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न आयोजनाहरू अगाडि सारेका छन् ।

चौधरीले पहिला आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर योजनाहरू बनाएका छन् । त्यसपछि समग्र नवलपरासीको विकास अगाडि बढ्नेछन् । निर्वाचनका बेला मतदातासँग गरेको प्रतिवद्धताअनुसार उनले ठूला योजनाहरू अगाडि सारेका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र नं. १ मात्र नभइ नवलपरासी जिल्लाको विकासमा आफूलाई केन्द्रित बनाएका छन् । जिल्लाको विकासका लागि नेता चौधरीले परामर्श गर्दै आएका छन् । उनले प्रारम्भीक रुपमा ठूला १५ आयोजनाहरू अगाडि ल्याएका छन् ।

सांसद चौधरीले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र नं. १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरू छनोट गरिएको बताएका छन् ।

बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाका ४ वटा वडा गरी कुल ३४ वटा वडाहरू सांसद चौधरीको क्षेत्रमा पर्दछन् ।

आयोजनाहरूमा केन्द्र र प्रदेश सरकारमार्फत बजेट सुनिश्चितता गराउने तयारीमा सांसद चौधरी छन् ।

बर्दघाट नगरपालिकासँग अन्य स्थानीय तहहरूलाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने, केरा खेती प्रबर्द्धन गर्ने, पशुपालनमा किसानलाई आकर्षण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास केन्द्र स्थापना गर्ने, कृषि बजार केन्द्र स्थापना गर्ने लगायतका आयोजनाहरू प्रस्ताव गरिएको सांसद चौधरीले बताएका छन् ।

नवलपरासी १ मा बुद्ध सर्किट निर्माण गर्ने, सीमावर्ती पर्यटन प्रबर्धन गर्ने, मत्स्यपालन क्षेत्रको रुपमा विकास गर्ने, गण्डक नहर सफाइ अभियान सञ्चालन गर्ने उनको योजना छ ।

उच्च शिक्षा केन्द्रको रुपमा विकास गर्ने, प्रकृतीमैत्री पर्वतीय पर्यटनको विकास गर्ने, औद्योगिक ग्राम बनाउने, एकीकृत विशेष सेवा अस्पताल निर्माण गर्ने, खेलकुद विकासका लागि बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण गर्ने र सरसफाइ तथा हरियाली प्रबर्धन अभियान सञ्चालन गर्ने आयोजना रहेको कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चौधरीले बताएका छन् ।

समय हुनेवित्तिकै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदाताका समस्या र गुनासा संकलन गर्दै आएका सांसद चौधरीले गफमा विश्वास गर्दैनन् ।

सांसद चौधरीले सचिवालयमार्फत पनि आफ्नो निर्वाचन क्षेत्रका मतदाताको बारेमा दैनिक रुपमा जानकारी समेत लिने गरेका छन् ।

Published : Wednesday, 2023 February 1, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया