रहस्यपूर्ण घटनाका तीन आरोपी प्रमाणसहित पक्राउ, प्रहरीलाई राम्रो सफलता

काठमाडौं । सिन्धुलीमा फरार रहेका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

तिनपाटन गाउँपालिका–८ कटुन्जे बस्ने ७० वर्षीय मंगलबहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका–१० बस्ने ४४ वर्षीय हर्कबहादुर तामाङ, फिक्कल गाउँपालिका–१ बस्ने ३१ वर्षीय रूद्रबहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

अपरिचित व्यक्तिहरूले गत पुस २ गते साँझ मंगल बहादुर तामाङ र उनको भान्जी घरमा बसिरहेको अवस्थामा दुवै जनालाई हात खुट्टा बाँधी कुटपिट समेत गरी सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्काहरू, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका थिए ।

घटनाको आवश्यक अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले डाँका चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

चोरी भएको सामानहरूमध्ये बुट्टे कचौरा ३ थान, ढलोटको अम्खरा ३ थान, तामाको ठूलो डबका २ थान र झर्काको थाल २ थान दुधौली नगरपालिका–१० मंगलबारे बस्ने ३५ वर्षीय लालबहादुर तामाङको घरबाट गत शनिबार प्रहरीले फेला पारी बरामद गरेपछि घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2023 January 31, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया