सीमित साधन स्रोतबाट पर्यटकलाई सुरक्षा दिएको भन्दै मन्त्री किराँतीद्वारा प्रहरीको प्रशंसा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

बिहीबार ४४औं पर्यटक प्रहरी दिवस, २०७९ को अवसरमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले पर्यटक प्रहरीलाई आउँदा दिनमा अझ सशक्त बनाउँदै लैजानुपर्ने बताए ।

उनले पर्यटनको विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्व हुने बताएका छन् ।

मन्त्री किराँतीले प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गरेकी छिन् । उनले पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोही अनुरूप आगाडि बढ्नुपर्ने बताएकी छिन् ।

पर्यटनको प्रवर्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशील भई प्रदर्शन गर्नुपर्ने उनले बताएकी छिन् ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाईको रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उनले बताएका छन् ।

पर्यटकलाई सेवा विस्तारसँगै उनीहरूको सुरक्षासँग सम्बन्धित विषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको सिंहले उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकको आगमनले देशलाई चिनाउन विशेष अवसर रहन र राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा पर्यटक प्रहरीको गतिविधी सम्बन्धी भिडियो प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2023 January 26, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया