वैदेशिक राजगार व्यवसायी संघमा नयाँ कार्यसमिति, बालकोट पुगे आशीर्वाद लिन
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित भएका भण्डारीले १९९ मत ल्याएका छन् । भण्डारी एमाले समर्थक हुन् । अध्यक्षमा निर्वाचित हुनेवित्तिकै बालकोटमा पुगेर भण्डारीले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग आशीर्वाद लिएका छन् ।
संघको अध्यक्ष पदका लागि भुवनसिंह गुरुङ (१५७), कुमुद खनाल (१३१) र ईश्वर जिसी (१२८) मत प्राप्त गरेका छन् ।
भुवनसिंह गुरुङ र कुमुद खनाल नेपाली कांग्रेस समर्थक हुन् । ईश्वर जिसी माओवादी केन्द्र निकटका मानिन्छन् ।
कांग्रेसका दुई उम्मेदवार भुवनसिंह गुरुङ र कुमुद खनालले एकअर्काको भोट काटेपछि एमालेका भण्डारीले संघको अध्यक्ष हत्याएका हुन् ।
संघको प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’, द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल निर्वाचित भएका छन् ।
महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले विजयी भएका छन् ।
सदस्यहरूमा कैलाश पाठक, चन्द्रबहादुर लिम्बु, तोरन कार्की, बैकुण्ठप्रसाद पौडेल ‘वैभव’, राजेन्द्र बस्नेत, देउमान नेम्वाङ, आनन्द कोइराला, देवमाया थापा, नारायण भुसाल र बिक्रम श्रेष्ठ विजयी भएका छन् ।
एमाले निकटका व्यवसायीहरूले संघमा अध्यक्षसहित ५ पदाधिकारी र ४ सदस्यमा जित निकालेको छ ।
१७ पदका लागि संघमा निर्वाचन भएको थियो । संघमा एमालेले बहुमत पाएको छ ।
यसअघि, नेपाली कांग्रेस निकटका व्यवसायीहरूले संघमा जितेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया