मन्त्रीद्वय किराँती र सिर्पाली सेमिनारमा सहभागी, २८ सम्पदामा भारतको लगानी

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको संयुक्त रुपमा उद्घाटन भएको छ ।

आइतबार काठमाडौंमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र श्रीमती सुशीला सिर्पाली ठकुरी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुवै देशका सांस्कृतिक सम्पदा क्षेत्रमा अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई सुदृढ गर्न र विज्ञहरुको स्थलगत अनुभवहरूबाट हासिल उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्न भारतीय राजदूतावाससँगको सहकार्यमा सो सेमिनारको आयोजना गरिएको हो ।

नेपालमा ५० मिलियन अमेरिकी डलरको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत ७ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ । १२ वटा सम्पदा क्षेत्रका लागि प्राविधिक विशेषज्ञता प्रदान गरेको छ ।

सेमिनारमा विभिन्न प्राविधिक सत्रका साथै सहभागीहरूसँग अन्तरक्रिया र विभिन्न संस्थासँग आवद्ध भई प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिरहेका विज्ञसँग छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका पदाधिकारी, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, निर्माण व्यवसायी र सम्पदा संरक्षणको क्षेत्रमा कार्यरत विज्ञको सेमिनारमा उपस्थिति थियो ।

सेमिनार ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दूतावासले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मध्येको एक हो ।

Published : Sunday, 2023 January 22, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया