प्रचण्ड कांग्रेससँग लिभिङमा बसेर एमालेसँग विवाह : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारप्रति कठोर टिप्पणी गरेका छन् ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले प्रधानमन्त्री दाहालले समान व्यवहार नगरेको बताए । उनले आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको बताए ।

उनले प्रचण्डले पटक–पटक मधेशसँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका उल्लेख गरेका छन् । अहिलेकै अवस्था रह्यो भने समस्या हुने उनको भनाइ छ ।

‘प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर, लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो’, नेता यादवले भनेका छन् ।

नेता यादवले थारु र मधेशीलाई दिएको आश्वासन र लडाइँमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताएका छन् ।

जसपाका नेता यादवले प्रधानमन्त्री दाहालसँग संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न सुझाव दिएका छन् ।

नेता यादवले जनलोकपाल विधेयक ल्याएर भ्रष्टाचारीहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । उनले जनताका बीचमा चुपचाप बस्ने अवस्था नरहेको बताए ।

Published : Saturday, 2023 January 21, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया