पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौड, कलाकारहरू सहभागी

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्रीको अवधारणालाई प्रवर्धन गर्न हेतु आजादीका अमृत महोत्सवअन्तर्गत पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौडको आयोजना गरेको छ ।

जलवायु परिवर्तनविरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन लाईफको शुरुवात गरेका थिए ।

विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन लाईफको उद्देश्य रहेको छ ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रमको शुभारम्भ गरेका थिए ।

दौडमा कलाकार प्रदीप खड्का, पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन, नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत १००० जनाको सहभागिता थियो ।

दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिला धावकलाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरि बनाइएको धातुबाट निर्मित लाईफ पदक तथा विरुवा प्रदान गरि सम्मान गरेका छन् ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गरेका छन् ।

Published : Saturday, 2023 January 21, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया