सेना दिवसको अवसरमा चियापान

काठमाडौं । भारतको ७५औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले चियापान समारोहको आयोजना गरेको छ ।

बुधबार काठमाडौंमा दिवसका अवसरमा चियापान कार्यक्रम गरिएको हो ।

सन् १९४९ जनवरी १५ तारिखकादिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर ईनचिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।

नेपाली सेनाका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवाश्री प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका छन् ।

भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधान सेनापति शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५औं सेना दिवसको शुभकामना व्यक्त गरेका छन् ।

भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त भएकोमा जनरल अनिल चौहानलाई बधाई दिए ।

दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गरेका छन् ।

Published : Thursday, 2023 January 19, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया