काठमाडौंमा काठ तस्करहरू पक्राउ, ठूलो संख्यामा काठ पनि बरामद

काठमाडौं । प्रहरीले काठमाडौंमा १६६७.२५ क्युफिट अवैध काठसहित मानिसहरू पक्राउ गरेको छ ।

मंगलबार राति प्रहरीले ३ वटा ट्याक्टरसहित ८ जना व्यक्तिहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तार्केश्वर नगरपालिका– १ स्थित जगत बसपार्क नजिक काठ बरामद भएको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र. ०१००६ ख. ४९४१, बा. ५ ख. ३६५६, बा. ५ ख. १४३९ र बा. ५ ख. ३३५६ नम्बरको मिनी ट्रकमा चिलाउने र उत्तिस जातका काठ अवैध तवरले ओसार पसार भई रहेको सूचना प्राप्त हुनासाथ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरी अधिकृतसहितको प्रहरी टोलीद्वारा प्रहरी वृत्त बालाजुसँगको समन्वयमा काठ लोड गरिएका ट्रकहरूसहित मानिसहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमा नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ घर भई हाल काठमाडौंको हात्तीगौडा बस्ने ३१ वर्षीय सुकमान तामाङ रहेका छन् ।

शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको टोखा बस्ने २८ वर्षीय सूर्य तामाङ, हात्तीगौडा बस्ने ३० वर्षीय सूर्य लामा, गोकर्ण बस्ने २५ वर्षीय छिरिङ लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

टोखा बस्ने २० वर्षीय वीरेन्द्र तामाङ, टोखा बस्ने ४० वर्षीय सन्तु तामाङ, नुवाकोटको उत्तरगया गाउँपालिका– ८ घर भई हाल बुढानिलकण्ठ बस्ने ३१ वर्षीय सुक्रबहादुर लो, मकवानपुरको थाह नगरपालिका– ८ घर भई हाल हात्तीगौडा बस्ने २७ वर्षीय विनोद पाख्रिनलाई पनि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उत्तिसको काठ गोलिया–५१४ र चिलाउने काठ गोलिया–६२ सहित पक्राउ परेका ८ जना व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय बुढानीलकण्ठ पानी मुहान पठाइएको छ ।

Published : Thursday, 2023 January 19, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया