एसएसपी कार्कीले जिम्मेवारी सम्हालेकै दिन काठमाडौंमा काम फत्ते गरे, एक बोरा राहदानी बरामद

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले ७३१ थान राहदानीसहित ३ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ ६ बजे प्रहरीले काठमाडौंको वीरेन्द्र ऐश्वर्य मार्गमा रहेका दुई वटा गेष्ट हाउस होटेलमा छापामारेर राहदानीसहित मानिसहरू पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा गुल्मीको छत्रपुर नगरपालिका– ९ बस्ने मीनबहादुर सोमरे, सिन्धुलीको कमलामाई नगरपालिका– ७ बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुरको बेतकोट नगरपालिका– ३ बस्ने ४४ वर्षीय लोकजन खड्कालाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्ट हाउसमा वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि भई रहेको सूचना प्राप्त हुनेवित्तिकै प्रहरीले छापाहानेको थियो ।

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त स्थानमा गई सुक्ष्म तवरले निगरानी गरेको थियो ।

केहि व्यक्तिहरू शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएकोले होटलका कोठाहरूमा खान तलासी गर्दा बिभिन्न व्यक्तिहरूका नाममा जारी भएका राहदानीहरू बरामद गरिएको थियो ।

प्रहरीले उनीहरूको साथबाट बिभिन्न व्यक्तिहरूका नाममा जारी भएका राहदानी थान–७३१ बरामद गरेको छ ।

पक्राउ परेका तीन जनालाई प्रकरणमा बरामद दशीसहित थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइएको छ ।

एसएसपी कार्कीले काठमाडौं प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्नेवित्तिकै ठूलो संख्याको राहदानीसहित मानिसहरू पक्राउ परेका छन् । एसएसपी कार्कीले मंगलबार जिम्मेवारी सम्हालेका थिए ।

Published : Thursday, 2023 January 19, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया