काभ्रेली गुण्डा ‘रोमन’ पक्राउ

काठमाडौं । प्रहरीले ३२ वर्षीय मनराज तामाङ ‘रोमन’लाई पक्राउ गरेको छ ।

डाँका तथा संगठित अपराध मुद्दाका फरार रहेका रोमनलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेको तिमाल गाउँपालिका–५ घर भएका रोमनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । काभ्रेली गुण्डाहरूको देखिने गरेर हर्कत कम भइरहेका बेला रोमन पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका तथा बाहिर समेत बिभिन्न श्रृङ्खलाबद्ध डकैती घटनाको अनुसन्धानको क्रममा फरार रहेका रोमनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उनकै घर नजिकबाट पक्राउ गरेको छ ।

रोमनले २०७९ असार ६ गते राति काठमाडौं शंखरापुर नगरपालिका–९ खुलालटारस्थितघरबाट करिब २ लाख ४१ हजार रुपियाँ बराबरको धनमाल डकैती गरेका थिए ।

उनले २०७९ असार १२ गते सोही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपियाँ बराबरको धनमाल डकैती गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७९ असार २० गते राति काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपियाँ बराबरको धनमाल उनले डकैती गरेको प्रहरीले जनाएको छ ।

उनी २०७९ साउन २४ गते राति कीर्तिपुर नगरपालिका–६ स्थितघरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपियाँबराबरको धनमाल डकैती गरेको घटनामा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

२०६८ कात्तिक २२ गते ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरूले डाँका गर्न जाने क्रममा त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा गोली प्रहार गरी ज्यान मारेको खुन डाँका मुद्धामा १० वर्ष कैद भुक्तान गरी छुटेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

उता, सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबास बजारबाट कटुवा पेस्तोल १ थानर सो पेस्तोलमा लाग्ने १ थान गोलीसहित ईश्वरपुर नगरपालिका–५ नरेशखोर बस्ने २२ वर्षीय संजितकुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमाईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

उता, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ घरभई काठमाडौं महानगरपालिका–६ बस्ने ५७ वर्षीय एकराज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Wednesday, 2023 January 18, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया