रेखा बनिन् प्रवक्ता, क्रसरको समस्या समाधान हुने, अध्यक्षमा डा.अधिकारी नियुक्त

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा सरकारको प्रवक्तामा नियुक्त भएकी छिन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले मंगलबार मन्त्री पदको शपथ लिएकी थिइन् ।

सरकारले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपियाँ तोकेको छ । उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रूपियाँ सरकारले व्यहोर्ने निर्णय भएको छ ।

सरकारले विभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सरकारले क्रसर उद्योगसँग सम्बन्धित समस्याका बारेमा मन्त्रिपरिषद बैठकमा छलफल गरेको छ । क्रसरको समस्या थप अध्ययन र छलफल गरेर समाधान गर्ने सहमति बनेको छ ।

क्रसर उद्योगका विषयमा अध्ययन गरी उपयुक्त निर्णय गरिने उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

Published : Wednesday, 2023 January 18, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया