आईजीपी सिंहद्वारा डीआईजी र एसएसपीहरूलाई अपराध नियन्त्रण गर्न कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई अपराध अनुसन्धानमा जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार नक्सालस्थित हेडक्वाटरमा आईजीपी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका हुन् ।

आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै उनले तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने उनले बताएका छन् ।

सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उनले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गरेका छन् ।

नेपाल सरकारले अंगिकार गरेको समृद्धि सहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको उनले बताएका छन् ।

सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

उनले प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू बिकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने बताएका छन् ।

मानवअधिकारसम्बन्धी ज्ञानलगायत भिड नियन्त्रणमा प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउनुपर्नेमा उनले बताएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 January 16, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया