देशको नेतृत्व कांग्रेसले पुनः लिन्छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ढिलोचाँडो पुनः देशको नेतृत्व कांग्रेसले लिने बताएका छन् ।

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले कांग्रेसले देशको नेतृत्व लिने बताए ।

उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । देशको नेतृत्व लिनेछौँ ।’

डा.महतले देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताएका छन् । उनले गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताएका छन् ।

‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन्’, उनले भने, ‘देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ ।’

डा.महतले भनेका छन्, ‘कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ ।’
उनले तारुकाको विकासको आवश्यकताका बारेमा आफू परिचित रहेको बताएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महतले भनेका छन्, ‘यहाँ खानेपानीको आवश्यकता छ, १२ महिना चल्ने सडकको आवश्यकता, गाउँगाउँलाई जोड्ने सडकको खाँचो छ ।’

‘त्रिशूली नदीमा मोटरेबल पुल चाहिएको छ, कांग्रेसको नेतृत्वमा धेरै काम भएकोले यहाँको आवश्यकता पनि पूरा हुनेछ’, उनले भनेका छन् ।

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता डा.महतले बताएका छन् ।

बागमती प्रदेश सभाका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले सांस्कृतिक महत्वको गोरु जुधाइ मेलाले स्थानीय पर्यटनको विकासमा भूमिका खेलेको बताएका छन् ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गोरु जुधाइ मेलालाई व्यवस्थापन र गोरु जुधाउन ल्याउने किसानका लागि पालिकाले आठ लाख बजेट दिएको जानकारी दिएका छन् ।

Published : Monday, 2023 January 16, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया