जहाज दुर्घटनाको प्रदीप अधिकारीले जिम्मेवारी लिएर राजीनामा दिन डा.संग्रौलाको दवाव

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटना भएको घटनामा महानिर्देशक अधिकारीले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत डा.संग्रौलाले जहाज दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘पोखराको विमान दुर्घटना सानो होइन । तर, यसको जिम्मेवारी केवल बिमान कम्पनीको मात्र होइन, उड्डयन प्राधिकरणले यो जिम्मा लिनुपर्छ ।’

‘दोश्रो विश्वयुद्धताकाको प्लेन अहिले पनि उडाइराखेका छन्’, डा.संग्रौलाले भनेका छन्, ‘पहिला कारबाही शुरु गर । बयान लिन थाल । यो प्लेनका बारेमा अन्तर्राष्ट्रिय दृष्टीकोण के हो ? जनतालाई जानकारी गराउ ।’

डा.संग्रौलाले भनेका छन्, ‘अयोग गठन गरेर हुँदैन । यो घटनामा हेल्चेक्राइ गर्नेलाई फौजदारी अपराधमा कारबाही हुनुपर्छ ।’

‘केहि वर्षअघि बाङ्लादेशबाट आएको विमान त्रि.वि.मा दुर्घटना हुँदा २२ जना डाक्टरको समेत मृत्यु भएको थियो’, उनले भनेका छन्, ‘अहिलेसम्म क्षतिपूर्ति पाएका छैन । मुद्दा अदालतमा छन् । तर, छिनिदैंन । खोज किन यस्तो भएको हो ?’

उनले भने, ‘बिदाभन्दा महत्वपूर्ण कुरा परिवारका सदस्यमाथीको बज्रपात हो । पहिला क्षतिपूर्तिको ब्यवस्था गर ।’

‘यो घटनामा परेको विमान र चालकका बारेमा तुरुन्त सार्वजनिक जानकारी गराउ’, संग्रौलाले भने, ‘के यो प्लेन अन्तर्राष्ट्रिय कानूनअनुसार उडाउन पाउने प्लेन हो ? जानकारी गराउ ।’

उनले भने, ‘त्यस कारण म नेपालका घरायसी प्लेन कहिले पनि चडदिन ।’

Published : Sunday, 2023 January 15, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया