दुर्घटना भएको यतीको जहाजको सूचीमा गायिका नीराको नाम

काठमाडौं । लोक दोहोरी गायिका नीरा छन्त्याल पनि यती एयरलाईन्सको दुर्घटना भएको जहाजको यात्रुको सूचीमा नाम रहेको छ ।

आइतबार बिहान यती एयरलाईन्सको ९ एन–एएनसी टीआर जहाज पोखराको नयाँ गाउँमा सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकाहरूको बारेमा प्रहरी र यती एयरलाईन्सले आधिकारिक जानकारी दिएको छैन ।

यद्यपि, जहाजको सूचीमा लोक दोहोरी गायिका नीरा छन्त्यालको नाम छ । यात्रु सूचीको ११औँ नम्बरमा नीराको नाम छ ।

केही गायक/गायिकाले सामाजिक सञ्जालमा गायिका नीरा छन्त्यालको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएको भनेर लेखेका छन् ।

गायिका छन्त्यालले जहाज दुर्घटना हुनुभन्दा दुई घण्टा अगाडि माघी पर्वको अवसरमा फेसबुकबाट शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

गायिका नीरा छन्त्यालको स्थायी घर बाग्लुङ जिल्लामा पर्छ । उनी काठमाडौंमा बस्दै आएकी थिइन् ।

गायिका नीरा छन्त्यालको स्वर रहेको लोक दोहोरी गीत ‘भन्न पाए त !’ गत वैशाखमा रिलिज भएको थियो ।

Published : Sunday, 2023 January 15, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया