भारतीय प्रधानमन्त्री मोदी समिटमा आफै सहभागी

काठमाडौं । भारतले दुई दिन ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को आयोजना गरेको छ ।

पुसको २८ र २९ गते दुई दिन भर्चुअलमाध्यमबाट शिखर सम्मेलन भएको हो । सम्मेलनमा १० वटा सत्र भएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल साउथका १२५ वटा राष्ट्रका नेता तथा मन्त्रीको उपस्थिति रहेको थियो ।

विकासशील देशहरूको प्राथमिकता, धारणा र चासोबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्न भारतले पहिलो पटक शिखर सम्मेलनको आयोजना गरेको हो ।

स्वास्थ्य, खाद्य सुरक्षा, ऊर्जामा सहज पहुँच, जलवायु वित्त तथा प्रविधि र आर्थिक विकासमा देखापरेका चुनौति र त्यसबाट सृजित कठिन परिस्थितिबाट सिंगो विश्व गुज्रिरहेकाले शिखर सम्मेलनको विशेष सान्दर्भिकता रहेको जनाइएको छ ।

‘हामीले खेप्नु परेको विभिन्न जकडिएका समस्याहरूको घातक असरको चरम जोखिममा रहेका विश्वका तीन चौथाई जनसंख्याका जटिलताहरूलाई नियाल्ने अवसर यस सम्मेलनले दिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २८ गते सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गरेका थिए ।

उद्घाटन सत्रपछि भएको आठ वटा मन्त्रिस्तरीय सत्रमा विकासशील देशका अहम् चासोबारे व्यापक छलफल भएको छ । दोस्रो दिनको समापन सत्रको अध्यक्षता पनि प्रधानमन्त्री मोदीले गरेका थिए ।

नेताहरूले महत्वपूर्ण मोडमा यस शिखर सम्मेलनको आयोजना गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुका साथै सम्मेलनको आयोजना गर्न उनले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन् ।

Published : Saturday, 2023 January 14, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया