मतदातको कुरा सुन्न गाउँ–टोलमा आइपुगे विनोद चौधरी, सुरु भयो विकासको काम

बर्दघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचाहरू कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् ।

शनिबार नवलपरासीको बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता चौधरीले चुनावमा आफूले गरेका प्रतिवद्धता पूरा गर्न कामको सुरुवात भएको बताएका हुन् ।

‘विभिन्न प्रतिकुलताका बीच हामीले चुनाव जित्यौं’, उनले भने, ‘चुनावका बेला नेता÷कार्यकर्ता र जनतासँग नवलपरासी– २ को विकास नै मेरो लक्ष्य हो भनेको थिए । यो एक महिनामै प्रतिवद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ ।’

नेता चौधरीले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टीकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिकचरणमा रहेको बताएका छन् ।

उनले भने, ‘विकास भनेको सोँच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र र विज्ञहरूसँग छलफल गरेर विकासको खाका बनाउँदैछौँ ।’

सांसद चौधरीले भने, ‘हामी कुनै आग्रह÷पूर्वाग्रह नगरी नवलपरासी– २ को विकासका लागि क्रियाशील हुन्छौं ।’

कार्यक्रममा नवलपरासी–२ को क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

नेता चौधरीले शनिबार नै आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत सुस्ता गाउँपालिका– १ का विभिन्न स्थानमा मतदाताहरूसँग भेटघाट गरेका छन् । उनलाई कांग्रेसका स्थानीय नेता कार्यकर्ता र मतदाताहरूले भव्य स्वागत गरेका छन् ।

प्रतिनिधि सभाको बैठक केही लामो समय स्थगित हुनेवित्तिकै नेता चौधरी आफ्ना मतदाताको पीरमर्का र समस्या बुझ्न निर्वाचन क्षेत्रमा आएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य चौधरी नवलपरासी–२ बाट प्रतिनिधि सभामा फराकिलो मतअन्तरले विजयी भएका हुन् । उनले पूर्वमन्त्री हृदयश त्रिपाठीलाई हराएका हुन् ।

Published : Saturday, 2023 January 14, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया