राप्ती– ३ का योगीसहित चार जना काठमाडौं उपत्यकामा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का २७ वर्षका कपिल गिरीलाई प्रहरीले सूर्यविनायकबाट पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ई–सेवा खातामा रकम जम्मा गर्न लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।

उनीहरूबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।

पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाईभमा जुवा खेलाउने गरेका थिए ।

योगीले आफ्ना दुई वटा ई–सेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

योगीको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपियाको कारोबार देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताएका छन् ।

कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने गरेका छन् ।

कपिलवको ३ वटा ई–सेवा खातामा मानिसहरूलाई रकम जम्मा गर्न लगाएका थिए । कपिलले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपियाको कारोबार गरेको प्रहरीले जनाएको छ ।

प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने गरेका छन् ।

प्रेम र डिल्लीराजले ई–सेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपियाँको कारोबार गरेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2023 January 13, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया