गृहमन्त्री लामिछानेद्वारा १७ डीआईजीहरूको काज सुरुवा, को कहाँ पुगे ?

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेका छन् ।

बिहीबार गृहमन्त्री लामिछानेले डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व डीआईजी श्यामलाल ज्ञवालीलाई दिइएको छ ।

डीआईजी ज्ञवाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा थिए । विमानस्थलमा डीआईजी किरण राणालाई काज सरुवा गरिएको छ ।

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज ल्याइएको छ । डीआईजी खाँ विवादमा तानिएका थिए ।

कर्णाली प्रदेशका पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।

डीआईजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरीको जिम्मेवारी दिएर काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा काज सरुवा गरिएको छ ।

डीआईजी अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा काज सुरुवा गरिएको छ ।

प्रहरी प्रवक्ता रहेका डीआईजी टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बुद्धिराज गुरुङलाई काज सरुवा गरिएको छ ।

प्रदेश नं. १ को प्रदेश प्रहरीको प्रमुखबाट डीआईजी सुदीप गिरीलाई विशेष ब्यूरोमा काजमा खटाइएको छ ।

Published : Thursday, 2023 January 12, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया