२३ वर्षीय युवकको पावरफुल दिमाग गलत ठाउँमा प्रयोग

काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै घर्तीले ठगी गर्ने गरेका थिए ।

‘विज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरूको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरूकै मोबाईल बैकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ’,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडितहरुलाई वाट्सएप मार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजातहरू तयार पार्नु भनी कल गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

काठमाडौंका विभिन्न स्थानबाट धिरेन मगर नाम गरेको व्यक्ति कागजतपत्र लिन आउने गरेका थिए ।

कागजातहरूको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरू एनसेल, नेपाल टेलिकम, स्मार्टसेल कार्यालयबाट पीडितकै मोबाइल नम्बर निकाल्ने गरेको पनि खुलेको छ ।

उक्त सिमकार्डबाट पीडितहरूको मोबाइल बैंकिङ याक्टिभ गरी ओटीपी कोड दुवईमा भएका शेरबहादुर चौधरीलाई पठाउने गरेको खुलेको छ ।

पीडितहरुको मोबाइल बैंकिङमा पहुँच पु¥याई रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एव कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 January 11, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया