स्वीफ्ट एचआर सोलुसन मेनवापरले पठाएका दश जना युवा मलेसियामा अलपत्र, उद्धार गर्न अपील

काठमाडौं । मलेसियामा दश जना नेपाली युवाहरू अलपत्र परेका छन् ।

काठमाडौंको सामाखुसीस्थित स्वीफ्ट एचआर सोलुसन प्रालि मेनपावरले ७५ जनालाई दुई महिना अगाडि मलेसिया पठाएको थियो । तीमध्ये दश जनाले समस्या भएको जनाएका छन् ।

रोजगारीमा गएका युवाहरूलाई मेनवापरले बेसिक तलब मलेसियाको रिङगिट १५ सय अर्थात नेपाली रुपियाँ करीव ४५ हजारको दरले दिने भनेर पठाएको थियो ।

पीडित युवाहरूका अनुसार आफूहरूले मेनपावरसँग भएको सहमतिअनुसार तलब नपाएको गुनासो गरेका छन् ।

मेनपावर कम्पनीका कर्मचारी प्रदीप जिएमले मलेसियाको कम्पनीले १५ दिनको तलब दिएकाले थोरै भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘कम्पनीले कामको टार्गेट तोकेको रहेछ । त्यो टार्गेट कामदारले पूरा गर्नुपर्छ । सबै कामदारमा समस्या छैन । केही कामदारमा समस्या देखिएको छ । समस्या समाधानका लागि पहल भइरहेको छ । हाम्रो कम्पनीको सर मदन खनाल गएर समस्याको समाधान गर्न खोज्नुभएको छ । केही कुराको समाधान पनि भएको छ । बाँकी समस्यालाई पनि समाधान गर्छौं ।’

मेनपावरले १५ सय रिङगिट बेसिक तलब भए पनि दुई घण्ट ओभर टाईमसहित महिनामा कम्तिमा २२ सय रिङगिट आर्थत करीव ६५ हजार नेपाली रुपियाँ तलब हुने प्रलोभन देखाएको थियो ।

स्वीफ्ट एचआर सोलुसन प्रालि मेनपावरले एकै पटक ७५ जना युवाहरूलाई रोजगारीमा पठाएको थियो । तीमध्ये केही युवाहरू नेपाल फर्किसकेका छन् । केही युवाहरू काम गर्दै आएको कम्पनीबाट भागेर अन्यत्र गएर जोखिम मोलेर काम गर्दै आएका छन् । दश जना युवाहरू नेपाल फर्किन तयार भएर बसेका छन् ।

समस्यामा रहेका युवाहरूमा नवीन खड्का (रुकुम), थानबहादुर खड्का (रुकुम), प्रकाश श्रेष्ठ (धादिङ), ललित शाही (रुकुम), हरि मल्ल (रुकुम), यज्ञबहादुर सिंह (रुकुम), घनश्याम डाँगी (सल्यान), नवीन विसी (जाजरकोट), केशव केसी (सल्यान) रहेका छन् ।


बीचका दलालहरू सेते बुढाथोकी (सल्यान, दार्मा गाउँपालिका), प्रदीप जिएम (दाङ), गणेश नेपाली (सल्यान), चक्रबहादुर बुढा (जाजरकोट हाल कोहलपुर), कृष्ण बस्नेतले मोटो रकम असुलेर उनीहरूलाई मलेसिया पठाएका थिए । यी दलालहरूले २ लाख ८० हजारदेखि ३ लाखसम्म युवाहरूसँग रकम लिएको पीडित युवाहरूले बताएका छन् ।

स्वीफ्ट एचआर सोलुसन मेनपावरका मदन खनाल मलेसिया आएर समस्या समाधान गर्ने प्रयास पनि गरेका थिए । तर, खनालले पनि पूरै समस्या सधान गर्न सकेनन् ।

मेनपावरले अहिले अलपत्र परेका नेपाली युवाहरूलाई आफैले टिकट काट्न लगाएको गुनासो पीडितहरूको छ ।

माओवादी केन्द्रका नेता तिलक मल्ल ‘क्षितिज’ले मलेसियामा अलपत्र परेका युवाहरूको उद्धार गर्न माग गरेका छन् । उनले युवाहरूको उद्धार नभएमा मेनवापर कम्पनी घेराउ र श्रम विभागमा पुगेर कानूनी उपचार खोजिने चेतावनी दिएका छन् ।

Published : Wednesday, 2023 January 11, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया