प्रहरीले सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता दियो

काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको बैठकमा लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक दीपक थापाले पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जन सम्बन्धी कानूनी प्रावधानहरू, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रम सम्बन्धी संख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका व्यवस्था र परिमार्जन गरिएका व्यवस्थाहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

थापाले लोक सेवा आयोगको सुरक्षा निकाय, अन्य संघीय सरकारी सवा र संगठित संस्थाका पदपूर्तिको लागि दिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९ व्यवस्था भए बमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताएका छन् ।

जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल समेत भएको थियो ।

Published : Tuesday, 2023 January 10, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया