चन्द्रागिरी केबलकारमा नेपाली सेनाको उद्धार अभ्यास

काठमाडौं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरूलाई दृष्टिगत गरि पूर्व तयारी स्वरुप अभ्यास गरेको छ ।

सेनाले श्री चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार श्री चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा ‘केबलकार उद्धार अभ्यास’ संचालन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई हाई लाईन रेस्क्यू तरिका (डोरी)द्वारा सुरक्षित तवरले जमीनमा उतार्ने अभ्यास गरेका हुन् ।

अभ्यासका दौरान सेनाका उद्धारकर्ताहरू र श्री चन्द्रागिरी हिल्स् लिमिटेडको उद्धार टोलीले केबलकारसँग रहेका उद्धार सामग्रीहरू तथा नेपाली सेनासँग रहेका उद्धार सामग्रीहरुको प्रयोग गरी अभ्यास संचालन गरेको हो । उद्धारकर्ताहरूबाट घाइते तथा सद्दे मानिसलाई विभिन्न तरिकाले जमीनमा उतार्ने अभ्यासहरू गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट श्री राष्ट्रिय विपद व्यवस्थापन शिक्षालय, श्री नं.१ विपद व्यवस्थापन गण, तथा श्री युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो ।

अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदम बहादुर बुढा (पि.एचडी) लगायतको उपस्थिति थियो ।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास संचालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने देखिएको सेनाले जनाएको छ ।

Published : Monday, 2023 January 9, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया