ओली–प्रचण्डको भित्री कुरा गगनले बाहिर ल्याइदिए, तनाबमा प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले संसद् विघटनको विषय प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खडगप्रसाद ओलीबीचको विग्रहको कारण बन्न सक्ने बताएका छन् ।

सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसदको पहिलो बैठकमा नै प्रधानमन्त्री अफ्ठ्यारोमा परेको बताए ।

‘ओलीजीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभयो’, महामन्त्री थापाले भने, ‘संसद् विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो ।’

सांसद थापाले अघिल्लो पटकको विवादको कारणबारे छलफल नै नगरी अघि बढेकाले सोही विषय विग्रहको कारण बन्ने उल्लेख गरेका छन् ।

‘आजको पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो संसदमा विग्रहको कारण बन्यो आज यो विषयको विजारोपण भयो’, थापाले भनेका छन् ।

‘यो नै विग्रहको कारण बन्छ’, उनले भने, ‘यो विषय हेर्दा सामान्य देखिए पनि मलाई विशेष कुरा लाग्यो ।’

प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकमा दलका शीर्ष नेताहरूलाई बोल्ने समय दिइएको थियो ।

माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले धेरै राजनीतिक कुरा राखेनन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा गर्न गठबन्धनले काम गरेको बताए ।

एमालेका अध्यक्ष ओलीले संसद विघटन गरेको आफ्नो कदमको बचाउ गरे । ओलीले संसद विघटन गरेको कुरा प्रतिगमन नभएको बताए ।

Published : Monday, 2023 January 9, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया