चार्ल्स शोभराजले जस्तै लुटपाट गर्ने सिरियल किलर पक्राउ

काठमाडौं । प्रहरीले ‘सिरियल किलर’ दम्पत्तिलाई पक्राउ गरेको छ ।

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय सिरियल किलरलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नागरिक २३ वर्षीय सुसान्त सिंहले पत्नीसँग मिलेर श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

भारतको गुडगाउँ हरियाणाका सुसान्त सिंह र उनकी श्रीमती २२ वर्षीय शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सिंहले श्रींखलाबद्ध रूपमा पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या गरेका थिए ।

कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापाको सिंह दम्पत्तिले हत्या गरेका थिए ।

असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

श्रीमती शिवासँग मिलेर महिलाहरूको हत्या गरेको सुसान्त सिंहले प्रहरीलाई बयान दिएका छन् ।

सुसान्त सिंहको बयानपछि प्रहरीले अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई पक्राउ गरेको छ ।

सुसान्त सिंह र शिवा परियारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालले बताएका छन् ।

हालै देश निकाला भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजले पनि महिलालाई लुट्न हत्या गर्थे । शोभराजकै जस्तो शैलीमा सुसान्त सिंह र शिवा परियारले वृद्धा, एकल महिलालाई निशाना बनाएर हत्या गर्ने र नगद तथा सुनका गरगहना लुट्ने गरेको रहस्य खुलेको छ ।

Published : Monday, 2023 January 9, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया