काठमाडौंमा पक्राउ परिन् मनीषा, सन्तोष पनि पक्राउ परे

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २६ वर्षीया मनीषा पुनलाई पक्राउ गरेको छ ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका– १ घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएकी मनीषालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनीषाले सामाजिक सञ्जाल फेसबुक, ईमो, ह्वाट्स एपको दुरुपयोग गरेर फिनल्याण्ड पठाउनेभन्दै ठगी गरेपछि पीडितहरूको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी फिनल्याण्डमा आकर्षक, तबल र सुविधामा रोजगारी मिलाइ दिन्छु भनी पीडितहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानीको फोटो लगायतका कागजपत्रहरू पठाउन लगाई फिनल्याण्ड जानको लागि जनही रू. ५ लाखको दरले रकम लाग्छ’, मनीषाले भन्ने गरेको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।

मनीषाले मासिक १०५० यूरो (नेपाली रुपियाँ १ लाख ४२ हजार) कमाई हुन्छ भन्दै खान र बस्ने सुविधा रहेको भनेर ठगी गरेकी थिइन् ।

मनीषले एनआईसी एसिया बैंकको खाता नं. २८०५७५१५५७७४३२००१ मा सात लाख रकम जम्मा गर्न लगाएको अनुसनधानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

मनीषाले पटक–पटक गरेर ७ लाख रकम खातामा जम्मा गर्न लगाएपछि फरार भएकी थिइन् । मनीषालाई प्रहरीले पुस २२ गते पक्राउ गरेर ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

यसैबीच, प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका– १० घर भई हाल काठमाडौंको बानेश्वरमा बस्दै आएका २७ वर्षीय सन्तोष मण्डललाई पनि पक्राउ गरेको छ ।

सन्तोषले बागबजारको ‘ईण्डो ग्लोबल कन्सल्टेन्सी’को सञ्चालक हुँ भनेर भारतमा ईन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजी युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनेर ८ लाख रकम ठगी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रकम लिएपछि सन्तोष सम्पर्क बिहीन भएका थिए । पीडितले जाहेरी दिएपछि प्रहरीले पुस २२ गते काठमाडौंबाट पक्राउ गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

Published : Sunday, 2023 January 8, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया