धेरैको ध्यान नपुगेको अपराधका फाईलहरू खोल्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी कर्मचारीहरू अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर घटित अपराधहरूको अनुसन्धान गर्ने निर्देशन दिएका छन् ।

सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान गरी पीडितलाई छिटो न्याय दिन निर्देशन दिएका हुन् । उनले पीडकलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

सिंहले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार भर्चुअलमाध्यमद्वारा निर्देशन दिँदै पेन्डिङमा रहेका मुद्दाहरूलाई अझ बढी प्राथमिकतामा राखेर चाँडो समाधान गर्न आग्रह गरेका छन् ।

आईजीपी सिंहले आन्तरिक सुदृढीकरण र आन्तरिक सुधारमा विशेष ध्यान दिँदै आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गरेका छन् ।

उनले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

आफ्नो क्षेत्रमा हुन सक्ने सम्भाव्य अपराधहरूको विश्लेषण गरी त्यस्ता अपराधविरूद्ध थप निर्मम तथा विशेष चनाखो भई काम गर्नुपर्ने उनले बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले उपलब्ध जनशक्तिको उच्चतम् प्रयोग गर्दै शान्ति सुरक्षा अमनचयनलाई थप मजबुद बनाउन आवश्यकताअनुसार समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘तस्करी तथा सीमा अपराध, प्राकृतिक दोहन नियन्त्रण तथा फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित र अत्यन्त प्रभावकारी रुपमा काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने तथा मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्नेछ ।’

सिंहले अहिलेको अवस्थामा नेपाल प्रहरीका लागि राम्रो काम गर्ने वातावरण भएको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले नयाँ जोश, उमङ्ग, स्वतन्त्र र अझ बढी सशक्त भएर काम गर्न निर्देशन दिएका छन् ।

तस्करी, आपराधिक क्रियाकलाप वा संगठनलाई आँच आउने कार्यमा कुनै पनि प्रहरी कर्मचारी संलग्न भएमा त्यस्तो कार्य क्षम्य नहुने र संलग्नलाई कठोर कारवाही गरिने उनले चेतावनी दिएका छन् ।

कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन दिनुपर्ने उनले बताएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका रिफ्रेसमेन्ट सेन्टर, टाइम कार्ड लगायतका कार्यक्रमहरूलाई लागू गर्नका लागि अझ बढी सक्रिय हुन उनको निर्देशन छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी, अन्य प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 January 4, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया