विवादित एसपी कँडेल हेडक्वाटर तानिए, जागिर नै फत्किने खतरा

काठमाडौं । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख (एसपी) ऋषिराम कँडेललाई तानेको छ ।

सोमबार कँडेललाई हेडक्वार्टर तानिएको हो । एसपी कँडेलले भारतका दुई जनालाई लागुऔषधमा फसाएको आरोप छ ।

रामग्राम नगरपालिका–१७ पिपरहियाबाट असार २२ गते भारतको बिहार मोतीहारीका रामा गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले उनीहरूलाई फसाएको आरोप छ । दोषी पाइएमा एसपी कँडेललाई कडा कारबाही हुनेछ ।

प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शङ्कास्पद रहेको निष्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको माग दाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सो घटनामा छानबिन गरिएको थियो । एसपी कँडेलले राम्रोसँग नेतृत्व गर्न नसकेको गुनासो आएपछि हेडक्वाटर तानिएको प्रहरी प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राईले बताएका छन् ।

एसपी कँडेलमाथि आर्थिक अनियमितता गरेको पनि आरोप छ । विभिन्न आरोप लागेपछि एसपी कँडेललाई बोलाइएको डीआईजी राईले बताएका छन् । एसपी कँडेल यसअघि पनि पटक–पटक विवादमा परेका छन् ।

Published : Wednesday, 2023 January 4, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया