काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु भएका १९ वर्षीय स्वयतकुमार साह सप्तरीको बोदेबसाई नगरपालिका–३ घर भई हाल काठमाडौंको गोल्फुटार बस्दै आएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, झापाको मेचीनगर नगरपालिका–२ त्रिमार्ग चोकस्थित भित्री सडकमा मे.१ ह ७१५३ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रविलाल दनुवारको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सिन्धुलीको दुधौली नगरपालिका–२ रत्नपुरस्थित सडकमा भीमानबाट दुधौलीतर्फ जाँदै गरेको ज.४ प ५०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने रितलाल अधिकारीको छोरा ३ वर्षीय प्रेम अधिकारीको मृत्यु भएको छ ।

बाटो क्रस गर्ने क्रममा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगल काठमाडौंमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 January 3, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया