प्रहरी कर्मचारीको हौसला बढाउँदै आईजीपी सिंहले दिए कार्यालय प्रमुखहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न निर्देशन दिएका छन् ।

सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरूबीच प्रदेशस्तरीय शान्ति सु–व्यवस्था सम्बन्धी अर्ध–वार्षिक समीक्षा बैठकमा सिंहले सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

उनले संगठको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा समेत संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहने बताएका छन् ।

आईजीपी सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने बताएका छन् ।

उनले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरेका छन् ।

स्थानीय तहको साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूको योगदान सराहनीय रहेको उल्लेख गरेका छन् ।

अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निश्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्नेमा उनले निर्देशन दिएका छन् ।

प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम–कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने आईजीपी सिंहले बताएका छन् ।

भर्चुअलबाट भएको बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरणका क्रममा उनीहरूले सुरक्षा चुनौति, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौति, पृष्ठपोषण, समन्वय, सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट, क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायतका विषयमा समेत विस्तृत जानकारी गराएका थिए ।

Published : Monday, 2023 January 2, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया