पानामाको जंगलमा रुकुमका शाहीको मृत्यु, लमहीका दिनेश चौधरीसहित दुई जना पक्राउ

काठमाडौं । अबैध तरिकाले दलालमार्फत अमेरिका जान हिँडेका एकजना नेपाली युवकको पानामाको जंगलमा मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० घर भएका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मंसिर २५ गते मृत्यु भएको आफन्तले जनाएका छन् ।

पानामामा खोला तर्ने क्रममा शाहीको बगेर मृत्यु भएको थियो ।

खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर शाहीको मृत्यु भएको आफन्तले जनाएका छन् ।

शाही दलालमार्फत अबैध बाटो हुँदै अमेरिकाका लािग फागुन १८ गते नेपालबाट निस्किएका थिए ।

पानामाको जंगलमा मृत्यु भएका शाहीले दलाललाई करिब ४० लाख दिइसकेका छन् । शाहीको शव नेपाल ल्याउन पहल भइरहेको छ ।

यसअघि पनि अवैध तरिकाले अमेरिका जाने क्रममा रुकुमका ३ जनाको मृत्यु भइसकेको छ ।

मुसिकोट नगरपालिका– ५ का ४१ वर्षीय रमेश गौतम र बाँफीकोट गाउँपालिकाका २६ वर्षीय प्रदीप खत्रीको कात्तिक २५ गते मृत्यु भएको थियो ।

बाँफीकोट गाउँपालिकाका रूपक बोहराको पनि बाटोमा मृत्यु भएको थियो ।

यसैबीच, मानव तस्कर गरेको अभियोगमा दाङको लमही नगरपालिका– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नगरपालिका– १० का २३ वर्षीय रुपेश ढकाल पक्राउ परेका छन् ।

उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीहरूले रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्दै आएको आरोप छ ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको काम लगाइदिने प्रलोभनमा पीडितसँग ठूलो रकम उठाएका छन् ।

पीडितलाई उनीहरूले भारतको नयाँदिल्ली हुँदै पहाडगन्ज लगेर अलपत्र छाडेका थिए ।

विदेश नजाने मनस्थितिमा पीडित नेपाल फर्केका थिए ।

बुझाएको रकम माग गरेपछि उनीहरूले पीडितलाई पोर्चुगल जान दबाब दिएका थिए ।

पीडितलाई उनीहरूले रसिया पुर्‍याएर अलपत्र पारेका थिए । रसियन प्रशासनले पक्राउ गर्दा पीडितले प्रयोग गरेको पासपोर्टसमेत नक्कली रहेको पाइएपछि नेपाल फर्काइदिएको थियो ।

प्रहरीका अनुसार पीडितलाई उनीहरूले जबर्जस्ती युक्रेन लैजान खोजेका थिए ।

रसियन प्रशासनले नेपाल फर्काइदिएपछि मात्रै उनीहरू असफल भएका थिए ।

नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई मंसिर १५ र १६ गते पक्राउ गरेको थियो ।

बुधबारको थुनछेक बहसपछि उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चालन गर्ने आदेश गरेको छ ।

Published : Friday, 2022 December 30, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया