भारतीय प्रधानमन्त्रीकी आमाको निधन, मोदीको परिवारमा को–को थिए ?

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरा बेनको १ सय वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान हीरा बेनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीकी आमा बिरामी भएपछि गत मंगलबार गुजरातको अहमदावादस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा शुक्रबार बिहान पौने ४ बजे निधन भएको हो ।

मोदीका पिता दामोदरदास मोदीका कुल ५ दाजुभाइ थिए ।

नरसिंह दास, नरोत्तम दास, जगजीवन दास, जयन्तीलाल र कान्तीलाल गरी दामोदर दासका ५ दाजुभाइ हुन् ।

जयन्तीलालले शिक्षकबाट अवकाश लिएका थिए । जयन्तीलालकी छोरी लीना बेनका पति विसनगरमा बस कन्डक्टर थिए ।

मोदीकी आमाको विवाह दामोदरदास मोदीसँग भएको थियो । हीरा बेन र दामोदरदासका ६ सन्तान छन् ।

प्रधानमन्त्री मोदी उनीहरूको तेस्रो सन्तान हुन् । हीरा बेनका सन्तानहरू अमृत मोदी, पंकज मोदी, नरेन्द्र मोदी, प्रल्हाद मोदी, सोमा मोदी र छोरी वसन्ती वेन हंसमुखलाल मोदी छन् ।

वसन्ती बेन ५ दाजुभाइकी एक्ली बहिनी हुन् । उनको श्रीमानको नाम हंसमुख भाइ हो । हसमुख भाइ भारतीय लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्छन् ।

मोदीका जेठा दाइको नाम सोमा मोदी हो । उनी स्वास्थ्य विभागमा कार्यरत थिए । अहिले अवकाश भइसकेका छन् ।
उनी अहिले अहमदाबादमा वृद्धाश्रम चलाइरहेका छन् ।

मोदीको माइलो दाइको नाम अमृत मोदी हो । उनी अहमदाबादमा बस्छन् । उनकी श्रीमतीको नाम चन्द्रकान्त बेन हो ।

अमृत कुनै समय लेथ मेसिन अपरेटर थिए । अहिले उनी अहमदाबादको घाटलोडिया क्षेत्रमा चार कोठाको घरमा अवकाश जीवन बिताइरहेका छन् ।

उनका छोरा सञ्जय, श्रीमती र छोराछोरी उनीसँगै बस्छन् । सञ्जयले एउटा सानो व्यवसाय चलाउँछन् ।

मोदी सोमा र अमृतको भाइ हुनभने प्रह्लाद, पंकज र वसन्ती बेनका दाई हुन् ।

मोदीका आफूभन्दा मुनिका भाइको नाम प्रल्हाद मोदी हो । उनी अहमदाबादमा सुपथ मूल्यको पसल चलाउँछन् । उनको टायरको शोरुम पनि छ ।

प्रह्लाद मोदीकी पत्नी भगवती वेन मोदीको सन् २०१९ मा हृदयघातका कारण निधन भएको थियो ।

मोदीका कान्छो भाइको नाम पंकज भाइ हो । पंकज गान्धीनगरमा बस्छन् । उनकी श्रीमतीको नाम सीता वेन हो ।

पंकजले सूचना विभागबाट अवकाश लिएका छन् । आमा हिरा बेन उनीसँगै बस्दै आएकी थिइन् ।

नरेन्द्र मोदीका काका नरसिंह दास मोदीका छोरा भरत भाइ मोदी वडनगरबाट ६५ किलोमिटर टाढा पेट्रोल पम्पमा काम गर्छन् ।

यस बाहेक नरेन्द्र मोदीका अन्य आफन्तहरू पनि विभिन्न काममा लागेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको परिवार कुनै लाभको पदमा छैनन् । सबैजना आ–आफ्नो सामान्य जीवन बिताइरहेका छन् ।

Published : Friday, 2022 December 30, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया